Sep 04, 2018
म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा सम्पन्न 

भदौ १६ गते बेनी, म्याग्दी ।

गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निजी क्षेत्र सँगको सहकार्यबाट नै गण्डकी प्रदेशको विकास र समृद्धि संभव भएको बताउनुभएको छ । मन्त्री लम्सालले गण्डकी प्रदेशमा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर प्रदेशलाई समृद्ध बनाउने योजना प्रदेश सरकारले बनाएको बताउनुभयो ।

शनिवार म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रमले प्रदेशको विकास र समृद्धिको आधार तयार पारेको दावी गर्नुभयो । पर्यटन,वन,जलस्रोत र कृषि क्षेत्रमा लगानीको अनुकुल वातावरण तयार पार्नका लागि आवश्यक कानुनहरुको निर्माणमा प्रदेश सरकार जुटेको उहाँको भनाई थियो ।

उद्योगमैत्री वातावरण तयार पारि लगानी भित्राउने योजना प्रदेश सरकारले बनाउन लागेको मन्त्री लम्सालले बताउनुभयो । हिजो औद्योगिक वातावरण थिएन विभिन्न कानुनी झटिलताहरु थिए भन्दै मन्त्री लम्सालले भन्नुभयो, ‘आफठ्यारा कानुनहरुलाई परिवर्तन गरि लगानी मैत्री बनाउन प्रदेश सरकार लागेको छ ।’ उद्योग,वन, वातावरण नीति चाँढै बनाउन प्रदेश सरकार जुटेको बताउँदै मन्त्री लम्सालले कानुनी झटीलताका कारण कोही पनि पछि पर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

हामी सँग भएका वन जंगल, जडिवुटी र खानीहरुलाई उचित रुपमा उपयोग गरि लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशमा भएका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधारको विकास गर्न प्रदेश सरकारले योजना बनाएको बताउनुभयो । उहाँले चालु आवमा होमस्टेको विकासका लागि ३० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

विभिन्न जातजातिको वसोवास भएको गण्डकी प्रदेशमा संस्कृतिको खानी नै भएकाले यसको जर्गेना गर्नसकेमा प्रशस्त पर्यटन भित्र्याउन सकिने उहाँको भनाई थियो । मन्त्री लम्सालले संघिय सरकारले अवरोध नगरेमा प्रदेशमा विकास गरेर देखाइदिने दावी समेत गर्नुभयो । उहाँले संघिय सरकारले प्रदेशलाई विभिन्न अंकुशहरु ल्गाउन नहुँनेमा जोड दिनुभयो ।

जनतालाई कर तिर्न सक्ने बनाएर मात्र स्थानीय सरकारले कर लिनुपर्ने उहाँको भनाई थियो । जनतालाई करको भारी नबोकाउन उहाँले जनप्रतिनिधिहरुलाई अनुरोध समेत गर्नुभयो ।

प्रदेशमा कर्मचारीको अभाव भएका कारण काम गर्न कठिनाई आएको बताउँदै उहाँले प्रदेशलाई व्यवस्थित बनाउनका लागि संघिय सरकारले आवश्यक व्यवस्थापनमा ध्यान दिन अनुरोध समेत गर्नुभयो ।  मन्त्री लम्सालले कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रुपमा लैजान सकेमा गण्डकी प्रदेशको विकासको ढोका खुल्ने बताउनुभयो । निजी क्षेत्र सँग संकेत गर्दै मन्त्री लम्सालले भन्नुभयो ‘योजना सहित आउनुहोस प्रदेश सरकार सहयोग गर्न तयार छ तर त्यसका लागि ठोस योजना सहितको खाका चाहिन्छ ।’ हिजोको जस्तो तरिकाले अव विकास र समृद्धि हासिल नहुँने भन्दै मन्त्री लम्सालले कर्मचारी,नेता,जनप्रतिनिधि र उद्योगी व्यवसायीहरु समयनुकुल परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि प्रदेश सांसद विनोद केसीले म्याग्दीमा भएका स्रोतहरुलाई परिचालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष चन्द्रप्रकास ढकालले निजी क्षेत्रलाई साझेदारीका रुपमा लिएर सरकार अघि वढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी,नेकपाका नेता हरिकृष्ण श्रेष्ठ,नोपली काँग्रेसका उपसभापति माधव प्रसाद रेग्मी,बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी लीलाधरअधिकारी,उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव कोइराला,मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसै गरि आइएलओका कार्यक्रम संयोजक प्रकाश शर्मा, उवासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार नाथ शर्मा,पूर्व अध्यक्ष कुविर कुमार श्रेष्ठ,म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुवेदी, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, विभिन्न संघसंस्थाका तर्फबाट रुप्से सञ्चार सहकारीका अध्यक्ष सुरज केसीले साधारसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उद्घाटन समारोहको समापन सँगै सम्पन्न भएको बन्द सत्रबाट संघको आर्थिक तथा भौतिक प्रगतिमाथि छलफल र अनुमोदन, आगामी बर्ष २०७५/२०७६ मा सम्पन्न गरिने प्रस्तावित कार्यक्रमहरु र रु. ८६,००,०००/-अनुमानित बजेटको अनुमोदन गरिएको थियो । 

त्यसैगरी संघमा आवद्ध रहेका साधारण सदस्यहरुको हितलाई मध्यनजर राख्दै तयार पारीएको व्यवसायी हित कोषको संचालन कार्यविधी अनुमोदन गरिएको थियो । उक्त कार्यविधी अनुसार कोषको सदस्यता लिनका लागि संघमा आवद्ध साधारण सदस्यहरुले एकपटक मात्र रु. २०००/-कोषको खातामा एकमुष्ठ जम्मा गर्नुपर्दछ । यो कोषमा आवद्ध भएका प्रोप्राईटरको निजको सहोदर आमा, बुबा वा सासु, ससुरा, पति/पत्नि, छोरा, छोरीको स्वर्गारोहण भएमा (सदस्यता प्रमाण पत्रमा नाम उल्लेख भएका व्यक्तिहरु) सहानुभुति स्वरुप रु. २५,०००/-, कोषको सदस्य रहेका सम्बन्धित प्रोप्राईटरको स्वर्गारोहण हुन गएमा सहानुभुति वापत परिवारका सदस्यलाई एकमुष्ठ नगद रु. ७५,०००/-सदस्यको व्यवसायमा प्राकृतिक र अप्राकृतिक रुपमा क्षती पुगेको अवस्थामा नगर तथा गाउँपालिकास्थित बजार इकाई समितिको शिफारिस र नेपाल प्रहरीको मुचुल्का अनुसार बढीमा रु. ५०,०००/-सम्म रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

उक्त सभाद्वारा म्याग्दी भ्रमण बर्ष २०७५ लाई भव्य रुपमा सम्पन्न गर्ने, म्याग्दी उद्योग वाणिज्य संघद्धारा स्थापना गरिएको पर्यटक सूचना केन्द्रलाई निरन्तर संचालन, संघकै नेतृत्वमा खोज अनुसन्धान र सार्वजनिक गरिएको नयाँ र छोटो दूरीमा भ्रमण गर्न सकिने धौलागिरी सेन्चुरी पदमार्गमा पर्ने विभिन्न स्थलहरुमा पूर्वाधार निर्माण गर्ने, मार्किङ्गको कार्य गर्ने, गाईड बुक निर्माण गर्ने, संघबाट म्याग्दी जिल्लाको पर्यटन प्रबद्र्धन गर्ने क्रममा जिल्लाका मुख्य पर्यटकियस्थलहरूको फोटो सहितको रंगीन पुस्तका प्रकाशन गर्ने, बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ, अन्तर्राष्ट्रिय कार्यकारीणी समिति र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त लगानीमा रू. ५९,००,०००/- को लागतमाबेनीबजार देखि लभ्ली हिलसम्म पुग्ने नयाँ पदमार्ग निर्माण गर्ने निर्णय समेत गरिएको थियो । 

त्यसैगरी उक्त सभाद्वारा देश संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा संघको विधान २०४३ का प्रस्तावित धारा उपधाराहरुको संशोधन लगायतका समसामयिक विषयहरुमा निर्णय गरिएको थियो । 

साथै उक्त सभाका प्रमुख अतिथी, विशिष्ट अतिथी, विशेष अतिथी, अतिथी लगायत उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गर्दै सभाको समापन गरिएको थियो ।

उवासंघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता र महासचिव लिलाराम गौतमको सञ्चालनमा उद्घाटन सत्र र बन्द शत्र सञ्चालन भएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by