Sep 06, 2018
मकवानपुर उवासंघद्वारा मिस नेपाल खतिवडाको स्वागत तथा सहयोग हस्तान्तरण

२०७५ साल भाद्र २१ गते

मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरे चेली मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई एक कार्यक्रमका विच खादा टिका लगाएर स्वागत गरेको छ । स्वागत मन्तव्य राख्दै कार्यक्रमका सभाध्यक्ष अध्यक्ष कृष्ण कटुवालले खतिवडाले मकवानपुरको गरिमा उच्च बनाएको बताए । आगामी मिस वल्र्डका लागि शुभकामना व्यक्त गर्दै अध्यक्ष कटुवालले वन होम फाउण्डेशनद्वारा कैलाश गाउँपालिकामा निर्माणाधिन स्वास्थ्य चौकीको लागि संघका सम्पूर्ण कार्यसमितिहरुको तर्फबाट रु. १,००,०००।- (एक लाख मात्र) को चेक पनि खतिवडालाई हस्तान्तरण गरे ।

स्वागत तथा छलफल कार्यक्रममा मन्तव्य राख्दै मिस नेपाल खतिवडाले मिस वल्र्डकालागि “व्युटी विथ अ पर्पस” शीर्षक अन्तर्गत कम्तिमा एउटा सामाजिक कार्य गर्नुपर्ने भएकोले आफ्नै गृह जिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिका वडा नं. ७ छनौट गरिएको बताए । सामान्य स्वास्थ्य परीक्षणकालागि पनि सर्वसाधारण र विरामीलाई ५ घण्टा पैदल आउनुपर्ने समस्याबाट मुक्त गराउन उक्त स्थानमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको र सोकालागि सबै क्षेत्रबाट सहयोग संकलन भईरहेको उनले बताए । संघले प्रदान गरेको रकमकालागि हृदयदेखि नै धन्यवाद प्रकट गर्दै तिहार अगावै स्वास्थ्य चौकी निर्माण गरिसक्ने लक्ष्य राखिएको पनि उनले बताए । विकट स्थानका कारण चौकी निर्माणमा ५० देखि ६० लाख अनुमानित बजेट लाग्ने बताउँदै उनले यस पुनित कार्यमा सबैको सहयोगको अपेक्षा पनि गरेका थिए । 

संघका महासचिव प्रमोद सिंह रानाभाटले संचालन गरेको कार्यक्रममा एशोसियट उपाध्यक्ष गणेशप्रसाद भेटुवालले धन्यवादज्ञापनसहित कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा बस्तुगत उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिवद्वय सन्तोषकुमार अर्याल, विष्णुगोपाल महर्जन, कार्यसमिति सदस्यहरु राजाराम कार्की, नरेन्द्र भण्डारी, प्रतिमा श्रेष्ठका साथै संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by