Nov 19, 2018
करदिवसको अवसरमा चितवन उवासंघद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना
३ मंसिर २०७५ चितवन । 

“करः समृद्ध नेपाल, सुखी नेपालीको भर” भन्ने मूल नाराका साथ करदाताहरुलाई केन्द्रबिन्दुमा राखेर यहि मंसीर १ देखी ७ गते सम्म सप्ताहव्यापी रुपमा आयोजित राष्ट्रिय कर दिवसको अवसरमा आज यहाँ एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत रहेका जिल्ला नगर उद्योग वाणिज्य संघको समन्वयमा देशभरि यस किसिमका कार्यक्रमहरुको आयोजना गर्ने सन्दर्भमा उद्योग वाणिज्य संघ–चितवन तथा आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनको संयुक्त आयोजनामा कदरदाता शिक्षा लगायत आर्थिक ऐन २०७५ ले व्यवस्था गरेको करको छुटका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

अन्तरक्रिया कार्यक्रममा उपस्थित उद्यमी व्यवसायीहरुलाई स्वागत गर्दै संघका अध्यक्ष सहनलाल प्रधानले कर तिर्नु सबै व्यवसायीको दायित्व रहेको र यसमा कसैको दुई मत नरहेको बताउनु भयो । कार्यक्रमम उहाँले उद्योगी व्यवसायी रहेमा मात्र व्यवसाय रहने र व्यवसाय रहेमा मात्र उद्योगी व्यवसायी रहने हुनाले व्यवसायी रहेमा मात्र कर संकलन हुन सम्भव भएको भन्दै व्यवसायमैत्री एवं वैज्ञानिक कर प्रणालीमा जोड दिनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्नु भयो । 

कार्यक्रममा उवासंघ–चितवनका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भट्टराईले व्यवसायीहरुलाई करको अवधारणा र यसका व्यवस्थाका वारेमा जानकारी गराउन नसक्दा व्यवसायीमा भय सिर्जना भएको भन्दै यसका लागि सहजिकरण आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शुव प्रसाद रिजालले करदातालाई करदाता शिक्षा दिने सन्दर्भमा मात्र नभई अन्य परामर्श सेवा दिनका लागि समेत सहकार्य गर्न तयार भएको बताउनु भयो । 

अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत गोबिन्द प्रसाद आचार्यले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका प्रतिनिधि, संघका साधारण सदस्य लगायत व्यवसायीको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो ।  उद्योग वाणिज्य संघका अध्यक्ष सहन लाल प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संघका कार्यकारी निर्देशक गौरव खतिवडाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by