Dec 27, 2018
लेखनाथ महोत्सवको गण्डकी तारामा सात जना छनोट

लेखनाथ, १२ पुस ।

लेखनाथ महोत्सवको मुख्य आकर्षणको केन्द्र विन्दुका रुपमा रहेको लुकेको प्रतिभाको खोजी अन्तर्गत गायन विधाका लागि सात जना प्रतिस्पर्दी छनोट भएका छन् ।

पहिलो चरणमा प्रबेश गरेका ४३ जना प्रतिस्पर्दीलाई पछि पार्दै पोखरा २९ का निगम सुनार, पर्बतका रोशिष थापा, पोखरा ५ का बशन्त थापा, चितवनका खुसी परियार, पोखरा १० का पल्वबी किरण भटराई, पोखरा १० का राम गुरुङ र पोखरा ३० का निशान बराल छनोटमा परेका हुन् ।

शुक्रवार हुने प्रतिस्पर्दाबाट चार जनाको छनोट गरिने र गण्डकी तारा विजेतालाई रु ५० हजार, उप विजेतालाई ३५ हजार, तृतियलाई २० हजार र सान्त्वनालाई रु १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतियोगीताका संयोजक ऋषिराम जमरकटेलले जानकारी दिएका छन् ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस १६ गतेसम्म चल्ने महोत्सवमा दिन प्रतिदिन दर्शकको चापसंगै आर्थिक कारोबारमा पनि बृद्धि हुंदै गएको छ । महोत्सवको आठौ दिन मात्र करिव १५ हजार दर्शकले मेलाको अवलोकन गरेको संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।  

अघिल्ला दिनको तुलनमा दर्शकको संख्या संगसंगै कारोवारमा पनि बृद्धि भएकाले विहिवार मात्र करिव एक करोड ५० लाख रुपैयाँ बरावरको आर्थिक कारोवार भएको र हालसम्म १० करोड ५० लाख रुपैया बरावरको आर्थिक कारोवार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाको दावी रहेको छ ।

यसै बिच महोत्सवको आठौं दिन विहिवार लोकदोहोरी तर्फ पुस्कल शर्मा, तारापति सुवेदी, सिर्जु अधिकारी, शिव हमाल, पार्वती जि.सी, आयुष परियार, रेखा गुरुङ र बबिता बानियाको प्रस्तुती रहेको थियो भने पप कन्र्सट तर्फ सहिमा श्रेष्ठ र रमेशराज भटराईको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए ।

यता महोत्सवको नवौं दिन शुक्रवारका लागि लोक दोहोरी तर्फ पशुपति शर्मा , सम्झना लामिछाने मगर, जिबन दाहाल, सरला पाण्डे, संकर पन्त, दुर्गा सापकोटा, पशुराम अधिकारी र लक्ष्मी बानियाँ, गणेश पौडेलको प्रस्तुती रहने र हास्य कलाकार तर्फ शैलेन्द्र सिङखडाका साथै साँझको पप कन्सर्टमा चर्चित र्यापर लाहुरे, रुपक डोटेल र सन्तोष बस्यालको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिएका छन् ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by