Jan 10, 2019
चितवन महोत्सवको दोश्रो दिन अवलोकन कर्ताहरुको उल्लेख्य सहभागिता

भरतपुर   १२ औं चितवन महोत्सवको दोस्रो दिन करिव १२ हजारले अवलोकन गरेकाछन् । दोस्रो दिन बिहिबारबाट नै  सांस्कृतिक कार्यक्रम सुरु भएपछि अवलोकनकर्ताको चाप बढेको हो । साँझ ५ बजेसम्म ७ हजार दर्शक पुगेको महोत्सवमा करिव एक घण्टामै  दर्शकको अत्यधिक चाप बढेको टिकट व्यवस्थापन संयोजक तारानाथ पाठकले जानकारी दिए ।
 
दोस्रो दिन चर्चित हाँस्य कलाकार जीतु नेपालको हाँस्य प्रहशन रहेकाले पनि अवलोकनकर्ताको चाप बढेको सांस्कृतिक कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठको भनाई छ । करिव ३ः३० बजे स्टेजमा मुन्द्रे उक्लिएपछि दर्शकहरु सबै सांस्कृतिक कार्यक्रम स्थल आसपास नै देखिन्थे । कार्यक्रममा मुन्द्रेले देशको परिवेशबारे पेचिला शब्दहरु मार्फत घोचपेच गर्दा दर्शकको ताली पाए ।
यस्तै जादुगर बलराम सरकारको प्रस्तुतीले अवलोकनकर्तालाई अचम्मित बनाएको थियो । महोत्सव अवलोकनका लागि पुगेकी तुलसी न्यौपानेले जादुको बारेमा धेरै सुनेपनि आफ्नै आँखा अगाडी जादुगरले देखाएका थरीथरीका चमत्कार अनौठो लागेको बताइन् ।
 
महोत्सव अन्र्तगत बिहिबारबाट लोक गीत प्रतियोगिता समेत सुरु भएको छ । ११ जना प्रतियोगि कलाकारहरुले आआफ्नो प्रस्तुती दिएकाछन् । 
 
उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा  भएको महोत्सवलाई तेस्ला एअर कण्डिसले मुख्य प्रायोजन गरेको हो । महोत्सवमा यस पटक ५ सय ७२  वटा स्टल रहेको  महोत्सवमा  मेड इन नेपाल परिसर, अटो परिसर, सुचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ ।  महोत्सवमा  परिसरमा आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरु बनाइएकाछन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएकाछन् । २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ । 
 
महोत्सवको तेस्रो दिन शुक्रबार भने आधुनिक गीत प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा १० जनाले आफ्नो प्रस्तुती दिनेछन् । बिहिबार जादुगर बलराम सरकारको चामत्कारिक प्रस्तुती छुटाउनेहरुका लागि  खुशीको कुरा उनी शुक्रबार पनि स्टेजमा आफ्नो प्रस्तुती सहित उक्लिने छन् । हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकारहरु घिरौली र सापटीको पूस्तुतीले दर्शक संख्या बढाउने आयोजकको अपेक्षा छ । अतिथि कलाकार थानेश्वर गौतमको आगमनलाई कुरीरहेका दर्शकहरु तेस्रो दिन महोत्सवमा पुग्ने सांस्कृतिक कार्यक्रम संयोजक श्रेष्ठले बताए । साथमा नारायणी कला मन्दिर, रोयल डान्स सेन्टर, चितवन डान्स सेन्टर, नेपाल तामाङ घेदुंग, नेपाल भुजेल सेवा समाजले सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन् ।
 
मेड इन नेपाल प्रदर्शनीको समुद्घाटन 
 
चितवन महोत्सव परिसर भित्र छ्ट्टै परिसर रहेको “मेड इन नेपाल” प्रदर्शनीको बिहिबार समुद्घाटन गरिएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको प्रदर्शनीको चितवन महोत्सव २०७५ का संयोजक सहनलाल प्रधान र नेपाली युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष निर्देश सेढाईले संयुक्त रुपमा समुद्घाटन गरेकाछन्  । 
 
स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्ने उद्धेश्यले आयोजना गरिएको नेपाली युवा उद्यमी मञ्चले “आफ्नो भनेको आफ्नै हो ” भन्ने नारा सहित मेड इन नेपाल प्रदर्शनी गर्दै आएको छ ।  प्रदर्शनीको सातौं संस्करण चितवनमा आयोजना गरिएको हो ।
 
प्रदर्शनीको समुद्घाटन गर्दै चितवन महोत्सव २०७५ का संयोजक सहनलाल प्रधानले प्रदर्शनीले उपभोक्ताहरुलाई नेपाली उत्पादन र सेवाबारे जानकारी गराउन र उपयोग गर्न प्रेरित गर्ने बताए । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष निरञ्जन न्यौपानेका अनुसार मेड इन नेपाली युवा उद्यमी मञ्चको अभियान मध्ये एक हो । नेपाली उद्योगका उत्पादन तथा सेवा प्रयोग गर्न आम उपभोक्तालाई सचेत गराउने, देशको आयातमुखी अर्थतन्त्रलाई थोरै भए पनि आत्मनिर्भर बनाउने सोचका साथ मञ्चले मेड इन नेपाल प्रदर्शनी सुरु गरेको उनले बताए ।  मेड इन नेपाल परिसर मा २२ वटा स्टल रहेको कार्यक्रम संयोजक दातारम घिमिरेले जानकारी दिए । छन् । नेपालमै उत्पादित माइनस ३ सय २१ डिग्रीमा बन्ने आइसक्रिम, कंक्रिटका वस्तु ,मार्वल, फलामका भ्यालढोका, स्टिलका उत्पादन ,पेन्टस्, गार्मेन्ट, जुस, काठका सामान, प्लाष्टिकका उत्पादन जस्ता स्तरिय नेपाली उत्पादनलाई मेड इन नेपालले समेटेको उनले बताए ।१२ चितवन महोत्सव अन्र्तगत रहेको मेड इन नेपालको परिसरलाई एशियन कंक्रिटो नेपालले प्रायोजन गरेको छ । प्रदर्शनीको समुद्घाटन समारोहमा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनराज श्रेष्ठ, तृतिय उपाध्यक्ष भोजराज कौडेल, उशियन कंत्रmिटो नेपाल  प्रा.लिका श्यामल  झा , नेपाली युवा उद्यमी मञ्च चितवनका सूर्यभक्त अधिकारी, दुर्गा घिमिरे,तेस्लाका कार्यकारी अधिकृत किरण आचार्यको उपस्थिती रहेको थियो ।
 
१२औं चितवन महोत्सवको उद्घाटन हिजो पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by