Mar 13, 2020

२०७६।११।३०

हाल विश्वभर फैलिएको कोरोना भइरस (COVID-19) का कारण विश्व त्रासद स्थितिमा रहेको सबैमा विदितै छ । दिनानुदिन फैलिंदै गएको उक्त भाईरसका कारण नेपालको मात्र नभई विश्वकै अर्थतन्त्रमा यसले नकारात्मक असर पारिरहेको छ । विश्व स्वास्थ्य संगठन (WHO) ले पनि आपतकालिन स्थितिको घोषणा गरिसकेको  र नेपाललाई अत्यन्त जोखिमपूर्ण राष्ट्रको सूचिमा रहेको जनाइएको छ । 

विश्वभर फैलिंदै गरेको यो महामारीका कारण नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० प्रभावित भई स्थगन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा नेपाल रहेको छ । कोरोना भाइरसको रोकथामका लागि बिभिन्न मुलुकहरुले अपनाएका पूर्वसावधानिका कारण आयात निर्यात कार्य लगभग ठप्प जस्तो हुने परिस्थिति सिर्जना भएको बर्तमान अवस्थामा राज्यभित्र सञ्चालनमा रहेको उद्योग व्यवसाय समेत धरासायी बन्न सक्ने भयावह स्थिति हाम्रो सामु देखिन लागेको छ । राज्यले अंगिकार गरेको ऐन, नीति, नियम  कानुनलाई आत्मसात गरि व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्यमी व्यवसायीहरुले उद्योग, कलकारखाना तथा व्यवसाय सञ्चालनार्थ लिएको ऋणको ब्याज तिर्न हालको परिस्थिति  अनुकुल देखिंदैन । एकातर्फ आवातजावत, सभा सम्मेलन, मेला महोत्सव जस्ता क्रियाकलाप गर्न बन्देज  एवं कच्चा पदार्थ तथा अन्य सामानहरुको आयात समेत ठप्प भएको कारण व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको ब्याज समयमा तिर्नुपर्ने बाध्यकारी अवस्थाका कारण व्यवसायी हतोत्साहित भएकाछन् । अतः उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकुल असर गर्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि यो समयावधिलाई व्यवसायिक संक्रमणकालको रुपमा घोषणा गर्दै उक्त समयावधिको बैंक तथा वित्तिय संस्थाको व्याज मिनाह गर्ने व्यवस्थाका लागि सम्बन्धित निकायमा उद्योग वाणिज्य संघ-चितवन जोडदार माग गर्दछ । साथै विश्वभरि व्याप्त कोरोना भाइरसका प्रभावको रोकथाम गर्नका लागि  सरकार (स्थानिय, प्रादेशिक, संघिय) लाई सहयोग गर्न उद्योग वाणिज्य संघ-चितवन सदैव तत्पर रहेको जानकारी गराउंदै दैनिक उपभोग्य सामाग्रीहरु सर्वशुलभ रुपमा उपलब्ध गराइदिनुहुन पनि सम्पूर्ण व्यवसायीहरुमा हार्दिक अपिल गर्दछौं । साथै उपभोक्ता वर्गहरुले अभाव हुने आशंकामा आवस्यकता भन्दा बढि खरिद र भण्डारण नगरिदिनुहुन समेत आव्हान गर्दछौं । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by