Jun 08, 2020
मकवानपुर उद्योग वाणिज्य संघद्वारा बैकर्स एशोसिएनसंग छलफल

मकवानपुर उद्योग वाणिज्य संघले जेठ २६ गते सोमबार बैकर्श एशोसिएसनसंग हेटौडामा छलफल गरेको छ । लकडाउनको अबस्थामा उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याहरूको बिषयमा बैकर्श एशोसिएसनसंग छलफल भएको हो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडामा रहेका विभिन्न बैंकका प्रतिनिधिहरूको सहभागिता थियो । 

अध्यक्ष कटुवालले लकडाउनको कारण सिर्जित विद्यमान कठिन परिस्थितिले उद्योगी/व्यवसायीहरूलाई परेको विभिन्न समस्याहरूबारे जानकारी गराउनु हुंदै व्यवसायीहरू गम्भिर समस्यामा पर्दा बैंक पनि समस्यामा पर्ने भएकाले दुवैले एकअर्कालाई सघाउनु पर्ने बताउनुभयो । व्यवसायीका जायज समस्याहरूलाई बैंकको प्रधान कार्यालयसम्म पुर्‍याइदिन पनि उहांले आग्रह गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य अरुणराज सुमार्गीले बैंकहरूलाई केन्द्रीय बैंकबाट परिपत्र नआएसम्म नीतिगतरूपमा फरक पर्नेगरी केही गर्न सक्ने अवस्था नरहने बताउनु हुंदै व्यवसायीहरूसंग स्थानीयस्तरमा एकआपसमा समन्वय गर्दै अहिलेको कठिन परिस्थितिमा अगाडी बढ्नुपर्ने बताउनुभयो । 

महासचिव प्रमोद सिंह रानाभाटले बैंकले किस्ताको लागि ताकेता भन्दापनि समयावधि बढाउनुपर्ने बताउनुभयो । मउवासंघका कार्यसमिति सदस्यहरु राजु अधिकारी, रूपकराज दाहाल र कृष्ण प्रसाद ढुंगानाले पूनर्कर्जाको प्रक्रियाहरू स्पष्ट नभएको र अप्ठेरो अवस्थाको बीच व्यवहारिकता नअपनाई तारन्तार बैंकहरूबाट व्यवसायीहरूलाई फोन आएको सम्बन्धमा गुनासो व्यक्त गर्नुभएको थियो । सदस्य राजु अधिकारीले व्यवसायीहरू मात्र निरन्तर पीडित हुने परिस्थिति रहेमा आन्दोलनको विकल्प नरहने धारणा व्यक्त गर्नुभयो । 

बैकर्स एशोसिएसनका अध्यक्ष तथा बैंक अफ काठमाडौंका शाखा प्रवन्धक रमेशराज प्याकुरेलले लकडाउन अवधिको बैंक व्याजको लागि फोन सम्पर्क नगरिएको तर फागुन वा सोभन्दा अगाडीको हकमा भने बैंकहरूले फोन सम्पर्क गरेको बताउनु भयो । सधै किस्ता तथा व्याज बुझाउन मात्रै नभई ऋणमा सहजिकरणको लागि पनि फोन गर्ने गरेकोले त्रसित हुनुपर्ने अवस्था तत्काल नरहेको उहांले बताउनु भयो ।  साथै लकडाउन जेठ अन्तिमसम्म मात्रै भएकोले किस्ता व्याज आदिमा दिइएको छुट जेठ मसान्तसम्मको लागि मात्रै भएको बताउनुभयो । उहांले कोरोना प्रभावित र सहुलियत प्राप्त नगरेका व्यवसायीहरूलाई लकडाउन अवधिको किस्ता भूक्तानीमा बेस रेटमा नघट्ने गरी व्याजदरमा २ प्रतिशत छुट र १० प्रतिशत थप कर्जा उपलब्ध गराउन थालिएको बताउनुभयो । त्यस्तै लकडाउन अवधिको समस्यालाई ध्यान दिंदै पूनर्कर्जा एक बर्षको लागि उपलब्ध गराउने व्यवस्था रहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो । विभिन्न बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरूले कार्यक्रममा आफ्नो धारणा राख्नु भएको थियो ।   
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by