Aug 14, 2020

३० श्रावण, भरतपुर ।

उद्योग वाणिज्य संघ–चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउंदै आएको निशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ । 

उद्योग वाणिज्य संघ–चितवनको वैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण गर्ने सदस्यहरुलाई रु. ५० हजार बराबरको निशुल्क कोरोना वीमा गरिदिने निर्णय गरेको संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तिब्र गतिमा बढ्दै गएको र व्यवसायी सदस्य यसको जोखिममा रहेकोले यसको म्याद थपिएको संघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले जानकारी दिनुभयो । संघमा आवद्ध करिब ५ हजार सदस्यहरुको नै निशुल्क वीमा गरिदिने कार्यक्रम बमोजिम असोज मसान्तसम्मको म्याद थप गरिएको पन्तले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ–चितवनले सो योजना गत असार महिना देखि लागु गरेको र एक जना व्यवसायीलाई कोरोना संक्रमणको पुष्टि भईसकेकोले वीमा रकम उपलब्ध गराउन लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनुभयो । साथै संघले आज एक सूचना जारी गरि विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम एक हप्ताको लागि भरतपुर महानगरपालिकामा लकडाउन लागू गर्ने भएकोले उद्योग व्यवसाय बन्द गरी आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहनका लागि नेपाल सरकार द्वारा लागु गरेको स्वास्थ्य तथा सुरक्षाका उपायहरु अबलम्बन गर्न सबैमा अनुरोध गरेको छ । संघमा आवद्ध सदस्यहरुलाई सचेत गराउनका लागि संघले बिभिन्न सामाजिक सञ्जाल मार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको समेत संघले जानकारी दिएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by