Dec 28, 2020
सौन्दर्यकला व्यवसायीहरुका लागि कार्यशाला शुरु

१३ पुष , भरतपुर । 

उद्योग वाणिज्य संघ–चितवनको तालिमहलमा सौन्दर्यकला व्यवसायीहरुका लागि कार्यशाला शुरु भएको छ । चितवनको बिभिन्न स्थानमा सौन्दर्यकला व्यवसाय गरिरहेका महिला उद्यमीहरुका लागि लक्षित गरि उक्त कार्यशालाको आयोजना गरिएको हो । कोभिड १९ का कारण प्रभावित उक्त क्षेत्रलाई परिस्कृत गर्दै प्रबद्र्धन गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । 

कार्यशालाको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री सहनलाल प्रधानले सौन्दर्यकला र सौन्दर्य प्रशोधनका सामाग्रीहरुको माग र आपूर्तिले ठुलो हिस्सा ओगटेको बताउंदै यसलाई अझ बढि व्यवसायीक र थप मर्यादित बनाउंदै लैजानुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रधानले सौन्दर्यकला सम्वेदनसिल र स्वास्थ्य संग पनि सम्बन्धित भएकोले यसको अध्ययन र प्रशिक्षण निरन्तर भइरहनुपर्ने बताउंदै कार्यशालाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो । सोहि कार्यक्रममा सहभागिहरुलाई सम्बोधन गर्दै संघका अध्यक्ष एवम् कार्यक्रमका सभापति राजु श्रेष्ठले महिला सशक्तिकरणका लागि सर्वप्रथम महिला आत्मनिर्भर हुनुपर्ने  र आत्मनिर्भर हुनका लागि उद्यमशिलता आवश्यक रहेको बताउंदै उद्यमी महिला मार्फतनै आर्थिक रुपान्तरण हुने बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले रोजगार सिर्जना गर्ने सन्दर्भमा र उद्यमीशिलता विकास गर्ने सन्दर्भमा उद्योग वाणिज्य संघ चितवन सदैव क्रियाशिल रहने बताउनु भयो । 

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै संघका कार्यसमिति सदस्य एवम् तालिम संयोजक योगिता पियाले सिकाई जीवनको अन्त्य सम्म चलिरहने प्रक्रिया भएकोले यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा चितवन ब्युटि पार्लर युनिटिको समन्वयमा ४ दिन सम्म संचालन हुने उक्त कार्यशालामा ८० जना व्यवसायी सहभागि रहेको र ६ जना प्रशिक्षकले प्रशिक्षण दिने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन समारोहमा प्रशिक्षक सावित्री रेग्मी, चितवन ब्युटि पार्लर युनिटिका अध्यक्ष मिना उप्रेती लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहनलाल प्रधानको प्रमुख आतिथ्यता एवम् वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको धन्यवाद ज्ञापन सहित सम्पन्न भएको कार्यक्रमका उद्घाटन समारोह संघका व्यवस्थापन सहायक गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । एडभान्स मेक अप र हेयर स्टायलका विषयमा केन्द्रित रहने कार्यशाला पुष १६ गते सम्म संघको तालिम कक्षमा सञ्चान हुनेछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by