Mar 04, 2021
महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत बीच भेटवार्ता (२०७७/११/२०)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजे (Francois-Xavier Leger, Ambassador of France to Nepal) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो । सो भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो । 

उक्त भेटवार्तामा आगामी जुन महिना अघि नेपाल फ्रान्स विजनेश फोरम (Nepal-France Business Forum) बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिड पश्चात नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमती भयो ।

भेटवार्तामा राजदूत लेजेको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै अध्यक्ष गोल्छाले नेपाल फ्रान्स बीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गर्नुभयो । अध्यक्ष गोल्छाले कोभिड पछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराउनु भयो । उहांले दुवै देशका निजी क्षेत्र बीच सम्पर्क विस्तार मार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतमा जोड दिनु भयो । यसका लागि कुटनीतिक सहयोग महत्वपूर्ण हुने धारणा उहांको थियो ।  

राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरीरहेको बताउनु भयो । गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको र सो क्रममा महासंघ र मेडेफ इन्टरनेशनल (MEDEF International-the French Business Confederation) बीच सहमतीपत्रमा हस्ताक्षर भएको पनि उहांले स्मरण गर्नुभयो । नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउंदै नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढता समेत राजदूत लेजेले व्यक्त गर्नुभयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by