Apr 08, 2021
उवासंघ–चितवनका वस्तुगत संघको भेला सम्पन्न

२६ चैत, भरतपुर,

उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा संघमा आवद्ध वस्तुगत संघको भेला सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध रहेका वस्तुगत संघहरुको व्यवसायिक समस्या, सम्भावना, चुनौती र मागका बिषयमा राय संकलन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो । संघको भेलामा मन्तब्य ब्यक्त गर्दै संघका उपाध्यक्ष एवम् वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौडालले व्यवसायीबाट संकलन भएका समस्या,चितवनको समग्र विकासका सम्भावना, राज्यले अंगीकार गरेका कर, राजश्व तथा व्यवसायिक नीतिमा हुनुपर्ने परिबर्तन तथा संशोधन सम्बन्धि व्यवस्थाका लागि  लगत्तै नेपाल राष्ट्रबैंक मार्फत अर्थमन्त्रालयमा पठाई आवश्यक पहल गरिने बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष कौडालले आगामी आर्थिक बर्ष २०७८/२०७९ को बजेट तर्जुमा गर्नुपूर्व चितवनका व्यवसायीका मागहरु संप्रेशण गरि बजेट मार्फट संबोधन गराउन संघले प्रयास गर्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले आगामी आर्थिक बर्षको बजेट र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति एवम् आर्थिक नीति मार्फत व्यवसायीक समस्या समाधान गर्नका लागि राज्यका संयन्त्रका साथसाथै नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट पनि आवश्यक पहल कदमी गरिने बताउनु भयो । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठले वस्तुगत संघले राय सुझाव दिंदा चितवन जिल्लाको समग्र विकासका  सम्बन्धमा पनि माग राख्नु पर्ने बताउंदै विकासका पूर्वाधारहरु थप हुन सकेमा आर्थिक क्रियाकलाप निरन्तर बृद्धि हुने बताउनु भयो । सोहि कार्यक्रममा मन्तब्य आफ्नो धारणा राख्दै संघका दित्तिय उपाध्यक्ष चिरञ्जिवि सुवेदीले समयमै व्यवसायीक समस्या सम्बन्धित निकायमा पुर्‍याउन सकेमा व्यवसायी पछि पछुताउनु नपर्ने बताउनु भयो । 

छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवन संग आवद्ध रहेका वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि, कर्पोरेट सदस्य लगायतले करमा एक द्धार प्रणाली लागु गरिनुपर्ने, आयात प्रर्तिस्थापन गर्ने कार्यक्रम ल्याईनु पर्ने ,मुल्य अभिबृद्धिकरको दर घटाउनु पर्ने , दैनिक उपभोग्य वस्तुमा लाग्ने मुअकर छुट हुनुपर्ने लगायतका मागहरु राखेका थिए । सहभागि व्यवसायीहरुले उपभोक्ता संरक्षण ऐन अर्न्तगत व्यवसायीलाई लगाउने गरेको जरिवाना कम गरिनुपर्ने , कोभिड प्रभावित व्यवसायलाई राहत ल्याईनुपर्ने लगायत चिवन जिल्लाको पूर्वाधार विकास, कृषि ,शिक्षा,स्वास्थ्य र पर्यटन क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरिनुपर्ने मागहरु राखेका थिए । आज सम्पन्न भेलाबाट संकलन भएका व्यवसायीका सुझाव तथा मागहरुलाई तिन महले सुझावको रुपमा नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघ मार्फत अर्थ मन्त्रालयमा पठाईने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए  । संघका उपाध्यक्ष भोजराज कौडालको अध्यक्षतामा सम्पन्न ऊक्त कार्यत्रममा, संघका पदाधिकारी वस्तुगत संघका प्रमुख एवम् प्रतिनिधि, संघका कार्यसमिति सदस्य, कर्पोरेट सदस्य लगायतको सहभागिता रहेको थियो । बुधवार संघले यस क्षेत्रको विकास एवम् व्यवसायीक मागका सम्बन्धमा संघको हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभाबाट पारित प्रस्तावहरु नेपाल राष्ट्र बैंकलाई बुझाएको सचिवालयले जनाएको छ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by