Apr 22, 2022
एसएमइज र स्टार्टअप्समा सहकार्य गर्न एफएनसीसीआई र कोरियन एजेन्सी कोस्मे बीच समझदारीपत्रमा हस्ताक्षर (२०७९/०१/०९)

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी (Korea SMEs and Startups Agency - KOSME) बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यले आज एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किम (Mr. Moon Hwan Kim, Vice President, Korea SMEs and Startups Agency-KOSME) ले हस्ताक्षर गर्नुभयो । समझदारीपत्र हस्ताक्षर कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो । 

विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ ।



साना तथा मझौला व्यवसायलाई युग सुहाउंदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । एसएमइज र स्टार्टअप्सको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ ।  



समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअप्सको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै यसको अक्षरस कार्यान्वयनमा महासंघको प्रतिवद्धता पनि जनाउनुु भयो । अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप्स ५० लगानीकर्ता कार्यक्रम शुरुवात गरेको जानकारी दिनुहुंदै नेपालमा स्टार्टअप्स र एसएमइज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह समेत गर्नुभयो । 

कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुनले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । कोरियाले एसएमइज र स्टार्टअप्समा हासिल गरेको अनुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसंग नजिकमा रहेर कार्यगर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण शा:खको उपस्थिति थियो भने महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले महासंघको संक्षिप्त परिचय दिनु भएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by