Oct 04, 2023
सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य

सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिईएको छ । सन् २०२६ सम्ममा अल्पविकसित देशबाट पार गरेर सन् २०३० सम्ममा उच्च मध्यम आय भएको देश बन्ने लक्ष्य लिईएको हो । 

व्रिटिस एम्बेसीले व्रिटिस सरकारको ओभरसिज प्रोजेक्ट अन्तरगत नेपालमा ग्रिन ग्रोथ नेपाल परियोजना सुरु गर्ने तयारी गरेको छ । त्यस विषयमा मंगलबार बुटवल उद्योग वाणिज्य संघमा भएको छलफलमा ब्रिटिस एम्बेसी काठमाण्डौ इकोनोमिक डेभलपमेन्ट ग्रिन ग्रोथ ग्रुपका टिम लिडर रिचर्ड चैङले नेपालमा बेलायतको विकास प्राथमिकता नेपाल सरकारका प्राथमिकतासँग मिल्दोजुल्दो रहेको र उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य हासिल गर्न नेपालले थप आर्थिक रूपान्तरण गर्न तुलनात्मक लाभबाट प्रेरित रहेको बताउनु भयो । उहाँले यो परियोजनाले हरित ऊर्जा, उद्योग र सेवाहरूमा लगानी मार्फत कम कार्बन वृद्धि पछ्याउने अवसर प्रदान गर्ने बताउनु भयो । 

अवको करिव १ वर्षमा नेपालमा यो परियोजना सुरु हुने र त्यस अन्तरगत लुम्बिनी सहित मधेश प्रदेश र कर्णाली प्रदेशमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी गराउनु भयो । वार्षिक कुल हरितगृह ग्यास उत्सर्जन थोरै छ तर नेपाललाई हरित विकासको बाटोमा पुर्याउन अहिले लगानी नगरिएमा सन् २०५० सम्ममा तीन गुणा हुने प्रक्षेपण गरिएको छ । नेपालले हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ, हरित पूर्वाधार र व्यवसाय विस्तार गर्न एफडीआई र जलवायु वित्तको ठूलो स्तरलाई प्रोत्साहन गर्न र जलवायु–अनुकूल पूर्वाधार र शहरी योजना विकास गर्न ग्रीन ग्रोथ नेपालले नेपाल सरकारलाई मद्दत गर्ने पनि उहाँले जानकारी गराउनु भयो । 

त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपालमा उद्योग क्षेत्रमा सम्भावना भएपनि राम्रो वातावरण नहुँदा उद्योगी व्यवसायी निरुत्सायित भएको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीलाई उत्साहित गर्नको लागि संघमै कोशेली घर सञ्चालन गरिएको र विजनेश डेभलपमेन्ट सेन्टर सञ्चालनको तयारी गरिरहेको जानकारी गराउनु भयो । उहाँले बुटवलको पुराना बजार बटौली बजारलाई पुनः चलायमान बनाउनको लागि पर्यटकीय गन्तव्य बनाउन चाहेको पनि जानकारी गराउनु भयो । अध्यक्ष कसजूले यो परियोजना सफल बनाउनको लागि संघको तर्फबाट पूर्ण सहयोग रहने र सहकार्यको लागि समेत तयार रहेको जानकारी गराउनु भयो । 

त्यस्तै ग्रिन ग्रोथ नेपालकी सल्लाहकार सविता थापाले यो परियोजनाले विजनेस ग्रोथ गर्न फेसिलेट गर्ने, आफै लगानी गर्न नसक्नेलाई इन्भेटमेन्टको खोजी गर्न सहयोग गर्ने र अरु थप के गर्न सकिन्छ त्यस विषयमा पनि अध्ययन भईरहेको जानकारी गराउनु भयो । छलफलमा ग्रीन ग्रोथ नेपालका कन्सल्टेन्टहरु, संघका पदाधिकारी तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । त्यस्तै यो टोलीले संघले सञ्चालन गरेको कोशेली घरको समेत अवलोकन गरेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by