Jan 21, 2024
व्यवसायीका समस्या समाधानको लागि उद्योग वाणिज्य संघ –चितवनको पहल

७ माघ , भरतपुर ।

उद्योग वाणिज्य संघ–चितवनले उद्यमी व्यवसायीहरुको बर्तमान समस्या र कर तथा राजश्व संग सम्बन्धित समस्या समाधानार्थ नेपाल उद्योग वाणिज्य महासंघ मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलाई ज्ञापन पत्र बुझाउंदै समस्या समाधानार्थ पहल गर्नका लागि अनुरोध गर्नुभएको हो । देशको कुलग्राहस्थ उत्पादनमा ८१ प्रतिशतभन्दा बढि योगदान दिने नीजि क्षेत्रलाई राज्यले लागु गर्ने नीतिनियमहरु नीजि क्षेत्र मैत्री नरहंदा राजश्व नीति अस्पष्ट र झन्झटिलो हुंदा व्यवसायी झन हतोत्साहित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

ज्ञापन पत्रमा एउटा व्यवसायीको गल्तिका कारण अन्य सयौं व्यवसायीहरु पनि कारवाहीको भागिदार हुनुपर्ने वातावरण सिर्जना भएको , स्रोतमा (विक्रेता) समस्या हुंदा क्रेतापनि स्रोतका कारण छानवीनमा पर्ने दण्ड जरिवाना गर्ने कार्य गैह्र व्यवसायीक भएको ठहर गरेको छ  । वस्तु तथा सेवा आदान–प्रदाननै  नगरी झुट्टा तथा नक्कली कर वीजक जारि गरी कारोवार गर्ने व्यवसायीलाई कारवाही हुनुपर्ने बिषयमा संघको कुनै आपत्ति नरहेको तर प्रक्रियागत रुपमा कारोवार गर्ने व्यवसायीहरु, फुल अडिट भएका व्यवसायीक फर्महरुलाई समेत अनुसन्धानको नाममा बर्षौं पुराना खातापाता र हर हिसावमाग गर्ने कार्यले व्यवसायी हतोत्साहित भएकोले उक्त समस्या यथाशक्य छिटो समाधान गर्न संघले नेउवामहासंघ मार्फत पहल गरेको हो । 
देशमा व्याप्त बेरोजगारी र आर्थिक मन्दीका कारण ठुलो संख्यामा श्रम पलायन भएको अवस्थामा व्यवसायी माथी गरिएको यस किसिमको अब्यवहारिक र अवैज्ञानिक प्रक्रियालाई तुरुन्त बन्द हुने व्यवस्थाको लागि सम्बन्धित निकायमा पहल गर्नको लागी संघले जोडदार माग गरेको छ । चितवनका केही उद्यमी व्यवसायीहरुलाई अनुसन्धानको नाममा बर्षौ पुराना खातापाता र बैंक कारोवार माग गरिएको संघमा जानकारी आएकोले सो समस्या समाधानार्थ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ र निबर्तमान अध्यक्ष्ँ चुननारायण श्रेष्ठ काठमाण्डौ जानुभएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनु भयो । 

सोही अवसरमा संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले कृषि उद्यम केन्द्र मार्फत चितवनमा एक गाउं एक उत्पादन कार्यक्रम सञ्चालन गर्न अनुरोध गनुभएको थियो । संघका निबर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले बैंक ब्याज संग सम्बन्धित समस्या सम्बोधन गर्नका लागि पहल गर्न अनुरोध गर्नुभएको थियो ।  ज्ञापन पत्र बुझ्दै नेउवामहासंघका वरिष्ठ उपाध्यक्ष्ँ अन्जन श्रेष्ठले तत्काल नै यसको समाधानार्थ सम्बन्धित निकायमा पहल गरिने बताउनु भयो । साथै उहांले उद्योग वाणिज्य संघ चितवनले व्यवसायीको जल्दोबल्दो समस्यालाई उजागर गरेकोमा आभार समेत व्यक्त गर्नुभयो । संघले नेउवामहासंघ पश्चात राजश्व विभागका पदाधिकारीलाई समेत भेटगरि समस्या समाधानको लागि पहल गर्ने कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by