Apr 28, 2024
वित्तिय अनुशासन कायम हुन नसक्दा आर्थिक संकट  : सिईओ पाण्डे

रत्ननगर,बैशाख १६- नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले वित्तिय अनुशासन कायम हुन नसक्दा देशमा आर्थिक संकट देखा परेको बताएका छन।

रत्ननगर उद्योग बाणिज्य संघले आईतवार आफ्नै स्वागतको लागि राखेको कार्यक्रममा बोल्दै उनले कोरोनापछि वित्तीय अनुशासनमा बस्न नसक्दा आर्थिक संकट पैदा भएको बताएका हुन।

कार्यक्रममा बोल्दै उनले अनुत्पादक क्षेत्रमा लगानी हुँदा समेत मुलुकमा आर्थिक संकट पैदा भएको बताएका छन् ।

कोरोनापछि सरकारले वित्तीय औजार प्रयोग गर्न नसकेको भन्दै उनले त्यसको प्रत्यक्ष मार मुलुकको आर्थिक क्षेत्रले भोग्नु परेको बताए।

एकातिर राजनीतिक अस्थिर र अर्को तर्फ कोरोना महामारीको असरले आर्थिक सन्तुलन कायम हुन नसकेको उनले बताए ।

कोरोनाले थलिएका विश्वका अन्य देशहरुले वित्तीय औजारको रुपमा व्यक्तिको खाता खातामा पैसा हालेको भन्दै उनले नेपाल सरकारले भने कुनै पनि प्रकारको वित्तीय औजार प्रयोग गर्न नसकेको उनको भनाई छ ।

कोरोनापछि बैंकबाट ऋण लिएर उत्पादनशिल क्षेत्रमा लगानी हुँन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । बैंकबाट ऋण लिएर घरजग्गा र शेयर बजारमा लगानी गरियो उनले भने पैसा जग्गा र शेयरमा गएर जाम भयो, त्यसको असरले मुलुक थलिएको छ ।

बजारमा हल्ला गरेजस्तो आर्थिक संकट नरहेको भन्दै उनले मौद्रिक नीतिमा सुधार गरे संकट अन्त्य हुने दावी गरे । उनले नेपाल बैंकले आर्थिक कारोबारको अलवा समाजप्रति उत्तिकै उतरदायी रहेको बताए । बैंकलाई समाजसंग नजोडी सफलता प्राप्त गर्न नसकिने भन्दै समाजको आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्वका गतिविधि गर्र्दै आएको पाण्डेले बताए । बैंक र ग्राहकको सम्बन्धलाई ऋणिको रुपमा नहेरी सहयात्रीको रुपमा लिन उनले आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले पाण्डेलाई स्वागत गरेका थिए ।

सो अबसरमा गिरीले संकटको अबस्थामा व्यवसायीलाई पलायन हुन नदिन बैंकहरुले व्याज, किस्ता र अन्य जटिलतामा लचकता हुनुपर्ने बताए । व्यवसायीहरु ऋण तिर्न प्रतिबद्ध रहेको भन्दै अध्यक्ष गिरीले शंकटको अबस्था विर्सिएर बैंक तथा वित्तीय संस्थाले ऋणिलाई धरपकट गर्न नहुने बताए । उनले व्याजदर समायोजन र सहज कर्जाको व्यवस्था मिलाउन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उवा संघ रत्ननगरका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, संघका उपाध्यक्ष हरिप्रसाद अधिकारी, केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्त लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल बैंक टाँडी शाखाका प्रमुख सरोज खनाल,संघका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by