Sep 09, 2025
नेपाल सरकारद्धारा हालसालै सामाजिक सञ्जाल र विभिन्न संचार प्लेटफर्महरू निषेध गरिएको विषय साथै भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखि जेन–जी युवा पुस्ताले हिजो मिति २०८२ भाद्र २३ गते आयोजना गरेको शान्तिपूर्ण विरोध ¥यालीमा भएको क्रुर दमनप्रति चितवनका निजी क्षेत्रको गम्भिर ध्यानाकर्षण भएकोछ । शान्तिपूर्ण विरोध प्रदर्शनमा भएको ज्यादती दुखद र त्रासदिपूर्ण छ । निशस्त्र युवा विद्यार्थीहरू माथि यति ठूलो संख्यामा सुरक्षाकर्मीको गोली खाएर मर्नुपर्ने अवस्थाले नेपालको संकटपूर्ण अवस्थाको प्रतिबिम्बित गरेको छ । सरकारको अकर्मण्यताका कारण ज्यान गुमाएका युवा विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
सूचना तथा प्रविधिले विश्व आज एउटा सानो गाउँको रुपमा विकसित भैसकेको अवस्थामा विश्वका मानिसहरूको सामाजिक सञ्जाल दिनचर्या मात्र होइन आय आर्जनको एक उत्कृष्ट प्लेटफर्मको रुपमा विकसित भइसकेको छ । कुनैपनि राज्यमा सामाजिक सञ्जाल सञ्चालनका विभिन्न प्रक्रिया हुन्छन्, नियमन गरिनुपर्ने विभिन्न विधि र प्रक्रिया हुन्छन् तर सोही नाममा सरकारले मनोमानी ढंगले सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक र अदुरदर्शी निर्णय भएको निजी क्षेत्रको ठहर रहेको छ । सूचना प्रविधिको माध्यमले संसारका गरिब र अल्पविकसित मुलुकले समेत सार्वजनिक सेवा प्रदान गर्दै प्रविधिमा महत्वपूर्ण फड््को मारेको अवस्थामा राज्यबाट भएको यो निर्णय र निर्मम नरसँहार कुनै हालतमा पनि स्विकार्य हुन सक्दैन ।
देशको अर्थतन्त्र दिनानुदिन नाजुक बन्दै गएको छ । श्रम पलायनले देश विक्षिप्त बनेको छ , देशमा केही गर्छु भन्ने मान्यता राखेका युवा, नवप्रबर्तकलाई मात्र होइन उद्यम व्यवसाय सञ्चालन गरेका उद्यमी व्यवसायीहरू पनि पूर्ण रुपमा हतोत्साहित भएका छन् । नेपालीहरूका महान चाडपर्वहरू नजिक आउँदै गरेको अवस्थामा भएको दुःखद घटनाप्रति पुनः आपत्ति जनाउँदै सरकारबाट भएको अमानवीय दमन बन्द गर्न, उद्यम व्यवसाय सुचारु रुपमा सञ्चालन हुने वातावारण सिर्जना गर्न, आम सर्वसाधारणलाई आवागमनका लागि सहज वातावरण सिर्जना गर्न सम्बन्धित सम्पूर्ण पक्षसँग हार्दिक अपिल गर्दछौ । जेन–जी पुस्ताको माग केवल उनीहरूकै लागि मात्र नभई सम्पूर्ण नेपालीको उज्ज्वल भविश्यका लागि भएकाले नयाँ पुस्ताको भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका जायज मागहरूको समर्थन गर्दै चितवनका निजी क्षेत्रको ऐक्यवद्धता जनाउदछौ ।