Feb 02, 2026
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही पुस्तक तथा स्टेशनरी बस्तुगत समितिले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीलाई पुस्तक तथा स्पोर्टसका सामग्री प्रदान गरेको छ । संघ अन्तर्गत गठित उक्त बस्तुगत समितिले शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा पुगेर ६० हजार रुपैयाँ बढीको पुस्तक तथा स्पोर्टसका सामग्री प्रदान गरेको हो ।
नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल, महासचिव मुक्तिप्रसाद अधिकारी, बस्तुगत समितिका सभापति बोधराज शर्मा, उपसभापति प्रकाश भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलका गणपती प्रहरी उपरिक्षक डिलबहादुर मल्ललाई पुस्तक तथा स्पोर्टसका सामग्री हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा संघका अध्यक्ष अर्यालले आफ्नो परिवारसंग टाढा रहेर देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि पुस्तक तथा स्पोर्टसका सामग्री साथी बन्न सक्ने बताउँदै पठन संस्कृतिको समेत विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै पुस्तक तथा स्टेशनरी बस्तुगत समितिका सभापति शर्माले समितिले सामाजिक उत्तरदायित्व बहन गरी विगतका वर्षमा गरिव तथा विपन्न परिवारका बालबालिका, कारागारका कैदी वन्दीलाई पुस्तक प्रदान गरिएको बताउँदै यो पटक नेपाल प्रहरी विशेष सुरक्षा गणको आवश्यकताका आधारमा सक्दो पुस्तक तथा स्पोर्टसका सामग्री प्रदान गरिएको बताउनु भयो ।
त्यस अवसरमा नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपती प्रहरी उपरिक्षक मल्लले आफूहरुको सानो आग्रहमा गणमा आएर पुस्तक तथा स्पोर्टसका सामग्री प्रदान गरेको बुटवल उद्योग वाणिज्य संघ र पुस्तक तथा स्टेशनरी बस्तुगत समितिलाई आधार सहित धन्यवाद व्यक्त गर्नुभयो । शिक्षा र ज्ञानका कुराले मानिसलाई विनयी बनाउने बताउँदै निरन्तरको अध्ययनले प्रहरीलाई पनि ज्ञानी बनाउने र त्यसले विनयी पनि बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरी विनयी बन्दा मुस्कानसहितको प्रहरी सेवालाई समेत मद्दत गर्ने भनाई राख्नुभयो । कार्यक्रममा जिल्ला फूटवल संघ नवलपरासीका अध्यक्ष ज्ञानु गुरुङको समेत सहभागिता रहेको थियो । कार्यक्रम प्रहरी सहायक निरीक्षक शम्भु नेपालले सञ्चालन गर्नुभएको थियो ।