Aug 14, 2026
काठमाडौं, श्रावण २९ गते, २०८३ — देशको पर्यटन तथा होटल उद्योग विस्तार र व्यावसायिक रूपमा अघि बढिरहेको वर्तमान अवस्थामा सरकारले होटल तथा आतिथ्य क्षेत्रलाई सहजीकरण, संरक्षण र प्रोत्साहन गर्दै अघि बढाउनुपर्ने आवश्यकता छ। यस्तो अवस्थामा होटलको आकार, सञ्चालनको प्रकृति, अतिथिको संख्या, दैनिक खाद्य उत्पादन तथा वास्तविक इन्धन आवश्यकतालाई समग्र रूपमा नहेरी खाना पकाउन प्रयोग हुने एलपी ग्यासको स्टकलाई मात्र आधार बनाएर अतिरञ्जित प्रचार हुनु दुःखद् विषय भएको होटल व्यवस्थापनले जनाएको छ। यस विषयप्रति नेपाल जर्मन उद्योग वाणिज्य संघ (NGCCI) को गम्भीर ध्यानाकर्षण भएको छ।
Radisson Hotel & Residences, Kathmandu नेपाल जर्मन उद्योग वाणिज्य संघको सदस्यसमेत रहेको र आफ्नो स्थापना कालदेखि नै नेपालको पर्यटन तथा आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको प्रतिष्ठित पाँचतारे होटल हो। अन्तर्राष्ट्रिय Radisson Hotel Group अन्तर्गत सञ्चालित यस होटलको प्रतिष्ठा तथा व्यावसायिक साखमा असर पुग्ने गरी अपूर्ण वा अतिरञ्जित सूचना सार्वजनिक हुनु सम्बन्धित सबै पक्षका लागि गम्भीर विषय हो।
होटल परिसरमा तीनवटा भवन, करिब २६० वटा अतिथि कोठा तथा करिब ३९२ बेड, ३० वटा अपार्टमेन्ट, तीनवटा ठूला Banquet Hall, चारवटा Meeting Hall तथा सातवटा Restaurant/Outlet सञ्चालनमा रहेका छन्। यसका अतिरिक्त, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको Lounge तथा Restaurant का लागि आवश्यक ग्यासको व्यवस्थापन पनि होटलबाटै हुने गरेको छ। यति ठूलो र बहुआयामिक सेवा सञ्चालन हुने होटलका सम्बन्धमा ग्यासको स्टकलाई मात्र आधार बनाएर धारणा बनाउनु उपयुक्त नहुने होटल व्यवस्थापनले जनाएको छ।
होटलका अनुसार, हाल दैनिक रूपमा ६०० भन्दा बढी कैलाश–मानसरोवर जाने यात्रु तथा अन्य अतिथिहरूका लागि Breakfast, Lunch र Dinner तयार गर्नुपर्ने हुन्छ। यसबाहेक होटलका कर्मचारीका लागि दैनिक करिब ४००–५०० जनाको खाना समेत तयार गरिन्छ। Banquet, Events, Room Service तथा अन्य Food & Beverage सेवाहरूलाई समेत जोड्दा होटलको Kitchen मा दैनिक रूपमा ठूलो परिमाणमा खाना उत्पादन हुने गर्दछ।
यस्तो विशाल र निरन्तर सञ्चालन हुने होटलमा एलपी ग्यासको दैनिक आवश्यकता स्वाभाविक रूपमा उच्च हुन्छ। हालको सञ्चालन अवस्थाअनुसार होटलमा दैनिक करिब ५०–६० वटा सिलिन्डरसम्म ग्यास खपत हुने होटल व्यवस्थापनले जनाएको छ। यस्तो अवस्थामा दैनिक प्रयोगमा रहेका तथा सुरक्षित रूपमा
रोटेसन र आकस्मिक आवश्यकताका लागि राखिएका गरी कुल १८४ वटा एलपी ग्यास सिलिन्डर हुनु आफैंमा अस्वाभाविक वा गैरकानुनी अतिरिक्त भण्डारणको प्रमाण मान्न सकिँदैन।
यस विषयमा एउटा महत्वपूर्ण तथ्य स्पष्ट पार्न आवश्यक छ—१८४ वटा सिलिन्डर भनेको १८४ वटै सिलिन्डर दैनिक रूपमा प्रयोग हुने भन्ने होइन। उक्त संख्यामा तत्काल प्रयोगमा रहेका सिलिन्डर, प्रयोगपछि परिवर्तन वा रोटेसनका लागि राखिएका सिलिन्डर तथा निरन्तर Kitchen Operation सुनिश्चित गर्न आवश्यक सुरक्षित स्टकसमेत समावेश हुन्छन्। दैनिक ५०–६० सिलिन्डरसम्म खपत हुने ठूलो होटलमा केही दिनको सञ्चालनलाई ध्यानमा राखेर आवश्यक इन्धनको सुरक्षित स्टक राख्नु सामान्य व्यवस्थापकीय आवश्यकता हो।
होटलको Kitchen चौबीसै घण्टा सञ्चालनमा रहने भएकाले ग्यासको आपूर्ति अवरुद्ध हुँदा सयौं अतिथि, यात्रु, कर्मचारी तथा Banquet/Event सेवामा प्रत्यक्ष असर पर्न सक्छ। त्यसैले निरन्तर र सुरक्षित इन्धन आपूर्ति होटल सञ्चालनको आधारभूत आवश्यकता हो, अतिरिक्त सुविधा वा विलासिता होइन। होटल व्यवस्थापनका अनुसार एलपी ग्यासको प्राप्ति, प्रयोग, वितरण तथा स्टकसम्बन्धी अभिलेख व्यवस्थित रूपमा राखिँदै आएको छ। साथै, ग्यास सिलिन्डरको सुरक्षित भण्डारण, Handling तथा प्रयोगमा लागू हुने सरकारी नियम, सुरक्षा मापदण्ड तथा सम्बन्धित कानुनी प्रावधानहरूको पालना गर्न होटल प्रतिबद्ध रहेको छ।
यसकारण, १८४ वटा सिलिन्डरको संख्या मात्र हेरेर त्यसलाई अस्वाभाविक, लुकाइएको वा अतिरिक्त भण्डारणका रूपमा प्रस्तुत गर्नु तथ्यपरक दृष्टिकोण होइन। होटलको वास्तविक आकार, सञ्चालनको प्रकृति, Kitchen तथा Restaurant/Outlet को संख्या, दैनिक खाना उत्पादन, Banquet तथा Event गतिविधि, विमानस्थलस्थित सेवा र दैनिक ग्यास खपतलगायत सम्पूर्ण सञ्चालनगत पक्षलाई समग्र रूपमा मूल्याङ्कन गरेर मात्र यस विषयमा निष्कर्ष निकालिनुपर्छ।
विशेषगरी, दुई दिनभन्दा कम समयको सञ्चालनका लागि आवश्यक ग्यासको परिमाणलाई समेत अतिरञ्जित रूपमा प्रस्तुत गरी प्रचारको विषय बनाइनु दुःखद् छ। यस्ता अपूर्ण वा एकपक्षीय सूचनाले अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रतिष्ठामा अनावश्यक असर पार्न सक्ने मात्र होइन, समग्र नेपाली पर्यटन तथा आतिथ्य क्षेत्रप्रति समेत नकारात्मक सन्देश प्रवाह हुन सक्छ।
नेपालमा पर्यटन, होटल तथा आतिथ्य क्षेत्र रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र आर्थिक गतिविधिको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ। त्यसैले यस्ता विषयलाई तथ्य, वास्तविक सञ्चालनगत आवश्यकता र सम्बन्धित व्यवसायीसँगको संवादका आधारमा निष्पक्ष रूपमा हेर्न आवश्यक छ।
नेपाल जर्मन उद्योग वाणिज्य संघ स्पष्ट रूपमा भन्न चाहन्छ कि होटलमा रहेका १८४ वटा एलपी ग्यास सिलिन्डर कुनै पनि हिसाबले लुकाएर वा गैरकानुनी रूपमा अतिरिक्त परिमाणमा भण्डारण गरिएका होइनन्। ती होटलको वास्तविक सञ्चालन आवश्यकता, दैनिक खपत, सिलिन्डरको रोटेसन तथा Kitchen को निरन्तर सञ्चालन सुनिश्चित गर्न व्यवस्थापन गरिएका हुन्।
अन्तर्राष्ट्रिय ब्रान्डसँग आबद्ध होटल तथा नेपालको पर्यटन उद्योगमा योगदान पुर्याइरहेका व्यवसायीहरूको प्रतिष्ठामा असर पर्ने विषयमा तथ्यको पूर्ण सत्यापन, सन्तुलित सूचना सम्प्रेषण र जिम्मेवार पत्रकारिता आवश्यक छ। नेपाल जर्मन उद्योग वाणिज्य संघ सम्बन्धित सबै निकाय तथा सञ्चारमाध्यमलाई होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विषयमा तथ्यपरक, निष्पक्ष र जिम्मेवार सूचना सम्प्रेषण गर्न आग्रह गर्दछ।
साथै, होटल तथा पर्यटन व्यवसायलाई अनावश्यक रूपमा हतोत्साहित नगरी सुरक्षा, नियमन र व्यावसायिक सञ्चालनबीच सन्तुलित, व्यावहारिक र लगानीमैत्री दृष्टिकोण अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ।