Oct 03, 2026
महासंघका अध्यक्ष र ईयूका राजदूत चाल्र्स ह्वाइटलीबीच भेटवार्ता - नेपाल–ईयू सम्बन्धलाई व्यापार, लगानी र निजी क्षेत्र साझेदारीमा केन्द्रित गर्न महासंघको जोड (२०८३/०६/१७)

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र युरोपेली संघ (ईयू) बीचको आर्थिक सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्र साझेदारीमा थप केन्द्रित गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि युरोपेली संघका राजदूत चाल्र्स ह्वाइटलीसँग महासंघ सचिवालय टेकुमा भएको भेटमा महासंघका अध्यक्ष श्रेष्ठले नेपालका लागि ईयू महत्वपूर्ण विकास तथा व्यापार साझेदार रहेको बताउँदै नेपालको निजी क्षेत्रको क्षमता विकास, निर्यात विस्तार, लगानी प्रवद्र्धन र दिगो आर्थिक विकासमा ईयूको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।



अध्यक्ष श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको संक्रमणलाई सहज बनाउन व्यापार सहजीकरण, नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, परीक्षण तथा प्रमाणीकरण पूर्वाधार, प्राविधिक मापदण्ड र निर्यात विविधीकरणमा ईयूको थप सहयोग आवश्यक रहेको बताउनुभयो । नेपाली तयारी पोसाक, गलैंचा, फेल्ट, पश्मिना, चिया, कफी, मसला, हस्तकला तथा वनस्पतिजन्य उत्पादनको युरोपेली बजारमा पहुँच विस्तारका लागि युरोपेली मापदण्ड, गुणस्तर, ट्रेसिबिलिटी र दिगोपनसम्बन्धी क्षमता अभिवृद्धिमा सहकार्य गर्न महासंघले आग्रह गरेको छ ।

महासंघले नेपालमा युरोपेली लगानी आकर्षित गर्न जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा बीपीओ, उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, पूर्वाधार र डिजिटल सेवामा पर्याप्त सम्भावना रहेको जनाएको छ। लगानी वातावरण सुधारका लागि नीतिगत स्थिरता, प्रभावकारी सरकारी सेवा, भन्सार प्रक्रियाको सरलीकरण तथा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

भेटमा राजदूत चाल्र्स ह्वाइटलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि ईयूको निरन्तर साथ र सहयोग रहने बताउनुभयो । नेपाल एलडीसीबाट स्तरोन्नतिको महत्वपूर्ण चरणमा रहेकाले त्यसका लागि आवश्यक तयारी, संक्रमण व्यवस्थापन तथा दिगो आर्थिक विकासमा ईयूले सहयोगलाई निरन्तरता दिने उहाँले बताउनुभयो । नेपाल–ईयू सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी व्यापार, लगानी, प्रविधि, निजी क्षेत्र तथा आर्थिक साझेदारीका क्षेत्रमा थप विस्तार गर्न सकिने उहाँको भनाइ थियो ।

महासंघ र ईयूबीच निजी क्षेत्रको क्षमता अभिवृद्धि, निर्यात प्रवर्द्धन, लगानी सहजीकरण, हरित तथा डिजिटल अर्थतन्त्र, जलवायु उत्थानशील पूर्वाधार र एलडीसी स्तरोन्नतिपछिको व्यापारिक संक्रमणमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो । सो अवसरमा दुतावासका उच्च अधिकारी तथा महासंघका महानिर्देशक लगायतको सहभगिता थियो ।


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image